"शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार, स्वच्छ समृद्ध बेनी नगरको मूल आधार"

header AD
संक्षिप्त विवरण

बेनी नगरपालिकाको गठन नेपाल सरकारको मिति २०७१ साल वैशाख २५ गतेको निर्णयअनुसार भएको हो। प्रारम्भमा साविकका रत्नेचौर, ज्यामरुककोट, घतान, अर्थुङ्गे, पुलाचौर र सिङ्गा गाउँ विकास समितिहरूलाई समेटी बेनी नगरपालिका घोषणा गरिएको थियो। नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा प्रवेश गरेपश्चात् स्थानीय तहको पुनर्संरचना हुँदा साविकका भकिम्ली र पात्लेखेत गाउँ विकास समितिहरू समेत समावेश गरी नगरपालिकाको वर्तमान संरचना कायम गरिएको हो। हाल यस नगरपालिकामा जम्मा १० वटा वडाहरू रहेका छन्।

गण्डकी प्रदेशअन्तर्गत म्याग्दी जिल्लामा अवस्थित बेनी नगरपालिका जिल्लाको सदरमुकाम तथा प्रमुख प्रशासनिक, आर्थिक, व्यापारिक र सामाजिक केन्द्रका रूपमा परिचित छ। धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा पर्यावरणीय दृष्टिकोणले विशिष्ट पहिचान बोकेको यस नगरपालिकामा प्राकृतिक सम्पदा, धार्मिक स्थल, सांस्कृतिक विविधता तथा परम्परागत सामाजिक जीवनशैलीको अनुपम संयोजन पाइन्छ। यहाँ विभिन्न जातजाति, भाषाभाषी, धर्म तथा संस्कृतिका मानिसहरूको बसोबास रहेको छ।

नगरपालिकाको भौगोलिक बनावट, प्राकृतिक स्रोतसाधन, नदी प्रणाली, हावापानी तथा सामाजिक र सांस्कृतिक विशेषताले यस क्षेत्रलाई विविधतायुक्त बनाएको छ। कृषि, पशुपालन, व्यापार, पर्यटन तथा सेवा क्षेत्र यहाँका प्रमुख आर्थिक गतिविधिहरू हुन्। स्थानीय स्रोतसाधनको परिचालन, पूर्वाधार विकास, गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा, सामाजिक सुरक्षा, वातावरण संरक्षण तथा प्रविधिमैत्री सार्वजनिक सेवा प्रवाहमार्फत नगरपालिकाले समग्र विकासका गतिविधिहरू सञ्चालन गर्दै आएको छ।

यस नगरपालिकाको भौगोलिक अवस्थिति, नामाकरण, प्राकृतिक विशेषता, धार्मिक तथा पर्यटकीय स्थल र अन्य आधारभूत विवरणहरू देहायबमोजिम रहेका छन्।

२. भौगोलिक अवस्थिति तथा प्रशासनिक विवरण

विवरण

जानकारी

प्रदेश

गण्डकी प्रदेश

जिल्ला

म्याग्दी

स्थानीय तह

बेनी नगरपालिका

नगरपालिकाको केन्द्र

बेनी बजार

वडा सङ्ख्या

१०

पूर्वी सिमाना

कालीगण्डकी नदी र जलजला गाउँपालिका, पर्वत

पश्चिमी सिमाना

मंगला गाउँपालिका, म्याग्दी

उत्तरी सिमाना

रघुगंगा गाउँपालिका, म्याग्दी

दक्षिणी सिमाना

बागलुङ नगरपालिका, बागलुङ

उचाइ

समुद्री सतहबाट ८१० मिटरदेखि करिब २,३१४ मिटरसम्म

क्षेत्रफल

७६.२५ वर्ग कि.मि.

हावापानी

समशीतोष्ण

जनसङ्ख्या

३२,६९७ (राष्ट्रिय जनगणना, २०७८)

परिवार सङ्ख्या

९,३३६

३. बेनी नगरको नामाकरण

बेनी नगर कार्यपालिकाको कार्यालय म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजारमा अवस्थित छ। कालीगण्डकी नदी र म्याग्दी खोलाको सङ्गमस्थल नजिक रहेको यस क्षेत्रको नामाकरणका सम्बन्धमा प्रचलित जनश्रुतिअनुसार दुई नदीको सङ्गमस्थललाई बेनी भनिने भएकाले यस स्थानको नाम बेनी रहन गएको मानिन्छ। तीन नदीको सङ्गमस्थललाई त्रिवेणी भनिएजस्तै दुई नदीको सङ्गमस्थललाई बेनी भन्ने प्रचलनसँग यस नामको सम्बन्ध रहेको जनविश्वास छ।

४. नगरका प्रमुख नदीहरू

बेनी नगरपालिका नदी तथा जलस्रोतका दृष्टिले पनि महत्त्वपूर्ण क्षेत्र हो। नगरपालिकाको भौगोलिक तथा प्राकृतिक संरचनामा नदी प्रणालीको महत्त्वपूर्ण भूमिका रहेको छ।

  • मुख्य नदी: कालीगण्डकी नदी
  • सहायक नदीहरू: म्याग्दी खोला (मंगला) र रघुगंगा नदी।

यी नदीहरूले नगरपालिकाको प्राकृतिक वातावरण, कृषि प्रणाली, जलस्रोत, धार्मिक तथा पर्यटकीय महत्त्व र स्थानीय जनजीवनमा महत्त्वपूर्ण योगदान पुर्‍याएका छन्।

५. धार्मिक तथा पर्यटकीय स्थलहरू

बेनी नगरपालिका धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक पर्यटनका दृष्टिले महत्त्वपूर्ण क्षेत्र हो। नगरपालिकाभित्र विभिन्न ऐतिहासिक कोट, मठमन्दिर, आश्रम, धार्मिक स्थल, प्राकृतिक झरना, तातोपानी कुण्ड, गुफा तथा मनोरम दृश्यावलोकन गर्न सकिने स्थानहरू रहेका छन्।

यी स्थलहरूले नगरपालिकाको धार्मिक तथा सांस्कृतिक पहिचानलाई कायम राख्नुका साथै पर्यटन विकास र स्थानीय आर्थिक गतिविधिमा समेत योगदान पुर्‍याउने सम्भावना बोकेका छन्। नगरपालिकाभित्र रहेका प्रमुख धार्मिक तथा पर्यटकीय स्थलहरू र तिनको प्रसिद्धिको कारण देहायबमोजिम उल्लेख गरिएको छ।

क्र.सं.

धार्मिक तथा पर्यटकीय स्थलको नाम

स्थान

प्रसिद्धिको कारण

१

अर्जमकोट

बे.न.पा.–१

ऐतिहासिक कोट

२

अर्जम भूमे मन्दिर

बे.न.पा.–१

ऐतिहासिक तथा धार्मिक मन्दिर

३

किम्माको थान

बे.न.पा.–१

ऐतिहासिक थान

४

ज्यामरुककोट

बे.न.पा.–२

ऐतिहासिक कोट

५

लभ्लिहिल

बे.न.पा.–२

बेनी बजारलगायत आसपासका प्राकृतिक दृश्यहरूको अवलोकन गर्न सकिने रमणीय स्थल

६

उडाइनो झरना

बे.न.पा.–२

सुन्दर प्राकृतिक झरना

७

स्वर्ग आश्रम (बेल ढुङ्गा)

बे.न.पा.–३

धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेको स्थल

८

तातोपानी कुण्ड

बे.न.पा.–४

प्राकृतिक तातोपानीमा स्नान गर्न सकिने तथा बाथ, हाडजोर्नी र ग्यास्ट्रिकलगायतका समस्यामा परम्परागत रूपमा उपचारका लागि प्रयोग गरिने प्राकृतिक उपचार स्थल

९

सिङ्गाकोट

बे.न.पा.–४

ऐतिहासिक कोट

१०

पौलत्स्य आश्रम

बे.न.पा.–५

परापूर्वकालमा रावणको जन्म भएको तथा पौलस्त्य ऋषिले तपस्या गरेको स्थान भनी मानिएको धार्मिक तथा ऐतिहासिक स्थल

११

जगन्नाथ मन्दिर (गाजने)

बे.न.पा.–५

परापूर्वकालमा डिम्ब महाराज अलाप्पेसँग सम्बन्धित ऐतिहासिक तथा धार्मिक स्थल

१२

पुलाकोट

बे.न.पा.–५

ऐतिहासिक कोट

१३

देउराली भगवती

बे.न.पा.–६

प्रसिद्ध धार्मिक स्थल तथा भगवती मन्दिर

१४

गुफा राममन्दिर

बे.न.पा.–६

धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेको स्थल

१५

महारानीथान मन्दिर

बे.न.पा.–७, कुरीलाखर्क

परापूर्वकालमा डिम्ब महाराजकी महारानी डिम्ब महाराजलाई भेट्न आउने क्रममा अलाप्पिएको स्थान भनी मानिएको

१६

बेनी भगवती मन्दिर

बे.न.पा.–७, बेनी बजार

वि.सं. १७०० मा वम मल्लको शासनकालमा निर्माण भएको ऐतिहासिक मन्दिर

१७

लक्ष्मीनारायण मन्दिर (तक्सार)

बे.न.पा.–७, बेनी बजार

बाइसे–चौबिसे राज्यकालमा सिक्का काट्ने स्थानका रूपमा परिचित ऐतिहासिक स्थल

१८

बेनी बौद्ध विहार

बे.न.पा.–७, बेनी बजार

बौद्ध धर्मावलम्बीहरूको आस्थाको केन्द्र

१९

कमलजैसी थान

बे.न.पा.–७

प्रसिद्ध धार्मिक थान

२०

बेनीकोट भण्डार

बे.न.पा.–८, बेनी बजार

मुख्य कोट; बाइसे–चौबिसे राज्यकालमा हातहतियार भण्डारण गर्ने स्थान तथा पर्वत राज्यको राजधानीका रूपमा ऐतिहासिक महत्त्व रहेको

२१

भगवती मन्दिर

बे.न.पा.–८

ऐतिहासिक कोट तथा धार्मिक स्थल

२२

गलेश्वर शिवालय मन्दिर

बे.न.पा.–९, गलेश्वर

धार्मिक मान्यताअनुसार महादेवले सतीदेवीको मृत शरीर बोकेर हिँड्ने क्रममा यस स्थानमा सतीदेवीको गला पतन भएको विश्वास गरिन्छ

२३

ढोल्ठान दरबार

बे.न.पा.–९

पर्वते राजा डिम्ब बम मल्लद्वारा वि.सं. १५४५ मा निर्माण गरिएको ऐतिहासिक दरबार

२४

जडभरत गुफा

बे.न.पा.–९, गलेश्वर

भरतले तपस्या गरेको धार्मिक मान्यता रहेको गुफा

२५

घतानकोट

बे.न.पा.–९

ऐतिहासिक कोट

२६

तोरीपानीकोट

बे.न.पा.–९

ऐतिहासिक कोट

२७

वाखेत भंकास धुरी

बे.न.पा.–१०

प्राकृतिक तथा मनोरम दृश्यावलोकन गर्न सकिने स्थल

२८

घारसुन्ना

बे.न.पा.–१०

वन पैदावार तथा प्राकृतिक जैविक विविधताको अध्ययन र अवलोकन गर्न सकिने क्षेत्र

२९

कालीगण्डकी नदी

बेनी नगरपालिका क्षेत्र

शालिग्राम शिला पाइने विश्वप्रसिद्ध धार्मिक नदी तथा मुक्तिनाथ क्षेत्र हुँदै बग्ने पवित्र नदी

६. धार्मिक तथा पर्यटकीय विकासको सम्भावना

बेनी नगरपालिकाभित्र रहेका धार्मिक, ऐतिहासिक तथा प्राकृतिक स्थलहरूको संरक्षण, संवर्द्धन र प्रचारप्रसार गर्न सकेमा नगरपालिकामा धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा प्राकृतिक पर्यटनको विकास गर्न सकिने प्रशस्त सम्भावना रहेको छ। विशेषगरी गलेश्वरधाम, बेनी भगवती मन्दिर, ज्यामरुककोट, पौलत्स्य आश्रम, ढोल्ठान दरबार, तातोपानी कुण्ड तथा लभ्लिहिलजस्ता स्थललाई पर्यटन पूर्वाधारसँग जोड्न सकिन्छ।

यी स्थलहरूको ऐतिहासिक तथा धार्मिक महत्त्वको अभिलेखीकरण, पहुँचमार्गको स्तरोन्नति, पदमार्ग निर्माण, सूचना तथा दिशासूचक बोर्ड स्थापना, सरसफाइ, विश्रामस्थल निर्माण र प्रचारप्रसारमार्फत आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न सकिनेछ। यसबाट स्थानीय रोजगारी सिर्जना, होटल तथा होमस्टे व्यवसायको विकास र स्थानीय उत्पादनको बजारीकरणमा समेत सहयोग पुग्ने अपेक्षा गर्न सकिन्छ।

७. समग्र विकास तथा सम्भावना

बेनी नगरपालिका प्राकृतिक, धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा आर्थिक दृष्टिकोणले महत्त्वपूर्ण पहिचान बोकेको म्याग्दी जिल्लाको सदरमुकाम हो। यहाँको भौगोलिक विविधता, सामाजिक तथा सांस्कृतिक सम्पदा, कृषि उत्पादनको सम्भावना, धार्मिक तथा पर्यटकीय स्थल र व्यापारिक गतिविधिले नगरपालिकालाई विशिष्ट बनाएका छन्।

स्थानीय स्रोत तथा साधनको अधिकतम उपयोग, नागरिक सहभागिता, संस्थागत क्षमता विकास, आधुनिक प्रविधिको प्रयोग, दिगो पूर्वाधार निर्माण र प्रभावकारी सार्वजनिक सेवा प्रवाहमार्फत नगरपालिकालाई समुन्नत, व्यवस्थित, स्वच्छ, समावेशी तथा समृद्ध स्थानीय तहका रूपमा विकास गर्न सकिने प्रशस्त सम्भावना रहेको छ।

यसका लागि नगरपालिकाले स्थानीय आवश्यकता र प्राथमिकतालाई केन्द्रमा राखी योजनाबद्ध विकास, प्रभावकारी कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कनमा जोड दिँदै नागरिकको जीवनस्तरमा सुधार ल्याउने दिशामा निरन्तर प्रयास गर्दै आएको छ।

आधारभूत जानकारी
Gandaki
Myagdi
नगरपालिका
76.25 sq. km
जनसंख्या तथ्याङ्क (Population Statistics)
Total 32697
Male 15361
Female 17336
Other 0
नक्शा दृश्य (Map View)

Establishment

Established at 2071-01-25
Website http://www.benimun.gov.np

Coordinates: 28.342690° N, 83.563089° E